काठमाडौँ– प्रमुख तीन ठूला दलबीच सङ्क्रमणकालीन न्याय निरुपणसम्बन्धी विधेयकलाई न्यायपूर्ण र सर्वस्वीकार्य बनाउने सहमति भएको छ ।
बालुवाटारस्थित सभामुख देवराज घिमिरेको निवासमा बसेको बैठकमा दलहरुबीच सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषय र प्रक्रियामा पुनः छलफल गर्ने सहमति भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
सो विधेयकलाई अगाडि बढाउन, सदनलाई प्रभावकारी बनाउने विषयमा सभामुख घिमिरेको संयोजनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्षनेता छलफलमा जुटेका हुन् । शीर्षनेताहरु सङ्घीय संसद्का संयुक्त समिति र अन्य समितिको नेतृत्व र प्रतिनिधित्व सहमतिमा टुङ्गो लगाउन सहमत हुनुभएको उनको भनाइ छ । अर्को बैठक आगामी वैशाख १ गते अपराह्न १ बजे सिंहदरबारमा बस्ने संयोजक अधिकारीले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीता रहेको थियो ।
प्रकाशित: २८ चैत्र २०७९, मंगलवार १२:२९