रोल्पामा २८ रोपनीको अफिम खेती नष्ट


तरुण पत्रिका

२९ चैत्र २०७९, बुधबार ११:५२

रोल्पा– रोल्पामा प्रहरीले जिल्लाका विभिन्न स्थानमा अवैधरूपमा गरिँदै आएको अफिम खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएका टोलीले परिवर्तन गाउँपालिका–४ र ५ का विभिन्न ठाउँमा करिब २८ रोपनीमा लगाएको २५ हजार ५ सय अफिमका बोट नष्ट गरेको हो ।

अफिम खेती नष्ट गर्न प्रहरी नायब उपरीक्षक श्याम सारुमगर नेतृत्वको ३८ जनाको टोली खटिएको थियो । सारुमगर नेतृत्वको टोलीले परिवर्तन–४ खोलागाउँ, तारल र वसुन्धरामा करिब २० रोपनीमा पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको हो । यहाँ करिब १८ हजार अफिमका बोट नष्ट गरिएका छन् ।

त्यसैगरी प्रहरीको अर्को टोलीले परिवर्तन–४ जैरेनी र तातापानी तथा परिवर्तन–५ बजेनीमा करिब ८ रोपनीमा लगाएको ७ हजार ५ सय अफिमका बोट नष्ट गरेको छ । उत्तरी र पूर्वी रोल्पामा गरिँदै आएको अवैध अफिम खेती हरेक वर्ष प्रहरीले नष्ट गर्ने गर्दछ

प्रकाशित: २९ चैत्र २०७९, बुधबार ११:५२