भक्तपुर– यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आजबाट सम्पन्न भएको छ ।
यहीँ चैत १७ गतेदेखि देशभर एकैसाथ सुरु भएको परीक्षा छिटफुट घट्नाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भएको एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले जानकारी दिएका छन् ।
देशका ७७ जिल्लाका २ हजार ३६ परीक्षा केन्द्रसहित जापानमा १ गरी २ हजार ३७ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा सम्पन्न भएको उनले बताए । “छिटफुट घट्नाबाहेक सबै परीक्षा केन्द्रमा शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको छ । घटना भएका केन्द्रका केहीलाई कानुनी दायरमा ल्याएका छौँ”, श्रेष्ठले भने । उनका अनुसार यसवर्ष परीक्षामा ४ लाख ८४ हजार २ सय २७ परीक्षार्थी सहभागी थिए ।
यसवर्षको एसइई परीक्षामा सहभागी हुनका लागि विसं २०७८ मा कक्षा ९ मा रजिस्ट्रेशन भर्ने ५ लाख १६ हजार ५ सय ९१ विद्यार्थीमध्ये कक्षा १० मा आउँदा ३२ हजार ३ सय ६४ विद्यार्थी घटेर ४ लाख ८४ हजार २ सय २७ पुगेका थिए ।
नेपालबाट रोजगारीकका लागि जापान पुगेका अभिभावकका १४ जना छोराछोरीले पनि यसवर्ष जापानबाटै परीक्षा दिएका छन् । जापान सरकारको अनुमतिमा नेपाली पाठ्यक्रममा पढाइ हुने टोकियोको एक शैक्षिक संस्थाबाट उनीहरुले परीक्षामा सहभागी भएका परीक्षा नियन्त्रक श्रेष्ठले जानकारी दिए ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार १५:४७