काठमाडौँ– कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पारेका छन् ।
कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खाद्य तथा कृषि सङ्गठन(एफएओ) र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी(युएसए आईडी)द्वारा संयुक्तरुपमा आयोजित ‘एग्रिटेक’ बैठकमा सचिव शर्माले विश्वव्यापी रुपमा डिजिटल विस्तारको परिपेक्षमा नेपालको कृषिक्षेत्र अछुतो रहन नसक्ने बताएका हुन् ।
सरकारले विभिन्न क्षेत्रमा प्रयोग गर्दै आएका डिजिटल नीति कृषि क्षेत्रमा पनि लागू गरेको र विस्तार हुँदै गएको उनको भनाइ छ । “करिब १० लाख किसान डिजिटल कृषिमा सूचीकृत भएका छन् । ३ तहबीच समन्वय गरी साना किसानको पहुँचका लागि मन्त्रालय प्रयासरत छ ।”
कुल ७३ प्रतिशत किसानले स्मार्ट फोनको प्रयोग गर्नु कृषि क्षेत्रको प्रवद्र्धनका लागि सुनौलो अवसर रहेकाले यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गरी उत्पादकत्व वृद्धि गर्न सकिने उनले बताए ।
किसानका मूल्य निर्धारण, बीउविजन, मल, अनुदान, वातावरणीय जोखिमलगायतका समस्यालाई डिजिलाइजेशनले न्यूनीकरण गर्न सकिने उनको भनाई छ । यसको प्रभावकारी कार्यान्वयन गर्न तीन तहबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार १६:४७