गण्डकी– नयाँ वर्ष २०८० को छेकोमा पोखराको फेवा किनारमा ‘१८औँ फेवा नववर्ष महोत्सव’ सुरु भएको छ । होटल सङ्घ पोखराद्वारा आयोजित महोत्सवको बुधबार पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका छन्।
कोभिड–१९ महामारी, आर्थिक सङ्कटजस्ता कारणबाट शिथिल बनेको पर्यटन व्यवसायलाई उकास्ने उद्देश्यले महोत्सव आयोजना गरिएको होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले बताएका छन्। “पर्यटक भित्र्याउन, संस्कृति देखाउन र स्थानीय खानाको स्वाद चखाउन महोत्सव आयोजना गरिएको हो”, उनले भने “पोखराको पर्यटन प्रवद्र्धनमा नववर्ष महोत्सवले महत्वपूर्ण टेवा पु¥याउँदै आएको छ ।”
महोत्सवको मुख्य ‘थिम’ नै पर्यटन, संस्कृति र खाना रहेको छ । लेकसाइडको फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा वैशाख १ गतेसम्म महोत्सव चल्नेछ । महोत्सवको अवसरमा पोखराका व्यवसायीले होटलमा २० प्रतिशत छुटको व्यवस्था गरेका छन् ।
महोत्सवले पर्यटकीय गतिविधि बढ्ने विश्वास आयोजकले लिएको छ । पछिल्लो समय पर्यटक आगमन घटेपछि व्यवसायी चिन्तित छन् । महोत्सव अवधिभभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछ ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार १७:४९