जनवरीमा भएकाे कुराकानी अहिले बाहिर ल्याएर षड्यन्त्र गरियाे : रास्वपा सांसद श्रेष्ठ


तरुण पत्रिका

२९ चैत्र २०७९, बुधबार १८:४४

काठमाडाैँ । रास्वपाका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले जनवरीमा भएको कुराकानी अहिले बाहिर ल्याएर रास्वपाविरुद्ध षड्यन्त्र भएको बताएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्नका लागि २ करोड रुपैयाँ मागेका श्रेष्ठले पार्टीलाई चुनावमा हराउने षड्यन्त्रका साथ अडियो बाहिर ल्याइएको बताए ।

बुधबार उनकै प्रकरणमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेर यस्ताे बताएका हुन् ।

‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’

उनले यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिन चिट ल्याएर आउने दाबी गरे। आफूले बोलेको कुरा नै परस्पर विरोधी धारणा राखेका श्रेष्ठले अडियो भने आफ्नो नभएको दाबी गरेका छन् । उनले पार्टीका तर्फबाट गरिएको निलम्बनको भने स्वागत गरेको बताए ।

सांसद श्रेष्ठले आफूमाथि पार्टीले गरेको कारबाहीलाई स्वीकार्ने बताएका छन् ।

‘मलाई फसाइएको हो । अदालतबाट क्लिन चिट पाएपछि आउँछु । पार्टीलाई चारतिरबाट प्रहार गरिएको सुनियोजित योजना हो । सबैले तीनै क्षेत्रका उमेदवारलाई भोट गर्नुहोला,’ उनले भने ।

करिब ५ मिनेट लामो पत्रकार सम्मेलनमा उनले आफ्नो कुरा मात्र राखे भने पत्रकारहरूको प्रश्नको जबाफ दिएनन् ।

प्रकाशित: २९ चैत्र २०७९, बुधबार १८:४४