विमान चार्टर गरेर चिनियाँ पर्यटक नेपालमा


तरुण पत्रिका

३० चैत्र २०७९, बिहीबार १३:००

काठमाडौँ – हिमालयन एयरलाइन्सको विमान चार्टर गरी १ सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् ।

नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो ।

नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरेका छन ।

स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्नपाउँदा ज्यादै खुशी लागेको बताए । “पाहुना भनेको भगवान हुन्, हामी भगवानको रुपमा सँधै विदेशी पाहुनाको स्वागत गर्दछौँ,” उनले भने ।

मन्त्री किराँतीले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुद बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । “चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एशियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भन्नुभएको थियो, हामी चीनमार्फत थप पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ,” मन्त्री किराँतीले भने ।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन सरकारको ठूलो भूमिका रहेको बताउँदै पोखरा विमानस्थललाई चीनसँग हवाईमार्फत प्रत्यक्ष जोड्न चाहेको बताए । मन्त्री किराँतीले नेपालका कतिपय शहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरेका छन् ।

नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए । नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने उनको भनाइ छ ।

नेपाल विग माउण्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्यसूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुशी व्यक्त गरेका छन् ।

उनले आगामी महिना झण्डै ८ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको बताए ।

 

प्रकाशित: ३० चैत्र २०७९, बिहीबार १३:००