बाजुराका एक बालकमा कालाजार भेटियो


तरुण पत्रिका

३० चैत्र २०७९, बिहीबार १६:३९

बाजुरा – गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् ।

हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

लगातार ३ महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले राससलाई जानकारी दिएका हुन् । उनका अनुसार बालकमा कालाजारका साथै कुपोषण छ भने शरिरमा दुई प्वाइन्ट मात्र रगत छ ।

रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताएका छन् । गर्मीयाममा घर आगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताएका छन् ।

प्रकाशित: ३० चैत्र २०७९, बिहीबार १६:३९