सकियो २०७९ साल: एक वर्षका मुख्य १० घटना


तरुण पत्रिका

१ बैशाख २०८०, शुक्रबार ०८:५४

काठमाडौं । वर्ष २०७९ आजबाट बिदा हुँदैछ । हरेक वर्ष जस्तै यो वर्ष पनि राजनीतिकै मियो वरिपरि देश घुमिरह्यो । त्यसो त राजनीति बाहिर पनि थुप्रै अविस्मरणीय घटनाहरु भएका छन् । २०७९ साललाई फर्केर हेर्दा यो चुनावी वर्षका रुपमा रहेको छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन हुँदै राष्ट्रियसभाको उपनिर्वाचनसमेत यस वर्ष सम्पन्न भएका छन् । यी चुनावहरुले राष्ट्रिय राजनीतिको शक्ति सन्तुलनमा निकै फेरबदल ल्याइदिएका छन् ।

 शक्तिमा प्रचण्ड

संसदीय चुनावमा नेकपा माओवादी केन्द्रले राम्रो नतिजा ल्याउन सकेन । तर, सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक चाल चलेर प्रधानमन्त्रीको कुर्सीमा आसिन हुन सफल भएका छन् ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रले नेपाली कांग्रेससहितका दलसँग तालमेल गरेर निर्वाचन लडेको थियो । परिणाममा माओवादी ३२ सीटसहित तेस्रो दल बन्यो । तर, कांग्रेसले प्रधानमन्त्री दिने पूर्वसहमति पालना नगरेको भन्दै प्रचण्ड एमालेतिर लहसिए । पुुस १० गते माओवादी अध्यक्ष प्रचण्ड रन्थनिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । अन्ततः एमालेलगायतका दलहरुको समर्थनसहित उनी तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भए । प्रधानमन्त्रीको सपथ लिएको १५ दिनपछि पुस २६ गते उनले प्रतिनिधिसभामा १० दलको समर्थनसहित ९९ प्रतिशत अर्थात २७० जना सांसदमध्ये २६८ जनाबाट विश्वासको मत प्राप्त गर्न सफल भए । तर, यो समीकरण चाँडै भत्कियो । प्रधानमन्त्री प्रचण्डसहितको निर्वाचनअघिकै गठबन्धन ब्युँताएपछि एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सरकारबाट बाहिरिए । त्यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी पनि तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा सर्वोच्च अदालतले पदमुक्त गरेपछि सरकारबाट बाहिरिसकेको थियो । त्यसपछि कांग्रेससहितको गठबन्धनबाटै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भए । गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक माघ ६ गते विश्वासको मत लिए । दोस्रो पटक प्रचण्डको पक्षमा १७२ र विपक्षमा ८९ मत तथा दिन्न भन्ने पक्षमा एक मत परेको थियो ।

यती एयरलाइन्सको विमान दुर्घटना

वर्ष २०७९ को माघ १ गते यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भयो । दुर्घटनामा चालक दलका ४ सदस्यसहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पौडेललगायत जहाजमा सवार ७२ जनाकै निधन भयो ।काठमाडौंबाट पोखराका लागि बिहान १०ः३२ मा उडेको यतीको ९ एन(एएनसी एटीआर(७२ विमान १०ः५७ मा सेती नदीको खोंचमा खसेको थियो । दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन आयोग बनायो । उक्त आयोगले सरकारलाई दिएको प्रतिवेदनमा इञ्जिनमा समस्या हुँदा दुर्घटना भएको उल्लेख छ । जहाजमा प्रशिक्षक पाइलटका रुपमा कमल केसी र पाइलटका रुपमा अञ्जु खतिवडा थिए ।

यौन प्रकरणमा दुई सेलिब्रिटी

यो वर्ष थुप्रै सेक्स स्क्यान्डलहरु सतहमा आए । त्यसमध्ये सबैभन्दा बढी चर्चा क्रिकेटर सन्दीप लामिछानेको भयो ।सन्दीपले बलात्कार गरेको भन्दै एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि नेपाल क्रिकेट संघले सन्दीपलाई निलम्बन ग¥यो । विदेशबाट फर्कने क्रममा उनी त्रिभुवन विमानस्थलबाट असोजमा पक्राउ परे । करिव ३ महिना हिरासत तथा कारागार बसेर उनी गत पुस मसान्तमा धरौटीमा रिहा भए । उच्च अदालत पाटनले तारेखमा रिहा गर्ने आदेश दिएपछि उनी २० लाख धरौटी तिरेर रिहा भएका हुन् । यद्यपि उनको मुद्दाको किनारा लागिसकेको छैन ।नाबालिग बलात्कारको अभियोग लागेका अभिनेता पूर्णविक्रम ९पल० शाह यस वर्ष रिहा भए । उच्च अदालत पोखराले सफाइ दिएपछि जिल्ला कारागार तनहुँबाट गत फागुनमा उनी रिहा भएका हुन् । शाहविरुद्धको अभियोगमा दाबी नपुग्ने भन्दै न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले उनलाई सफाइ दिएको थियो । पलविरुद्ध एक नाबालिग गायिकाले २०७८ सालमा नै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

स्वतन्त्रबाट बालेन र हर्कको उदय

वर्ष २०७९ को सुरुवातमा भएको स्थानीय तह निर्वाचनमार्फत दुई स्वतन्त्र अनुहारको नेपाली राजनीतिमा जबरजस्त उदय भयो । उनीहरु हुन्, बालेन्द्र शाह र हर्क साम्पाङ । स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएका बालेनले ठूला दलहरुलाई जिल्याउँदै काठमाडौं महानगरपालिकाको मेयरमा शानदार जीत हासिल गरेका थिए । कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापित जस्ता हस्तीहरुलाई पन्छाउँदै उनले मेयर पड्काएका हुन् । बालेनसँगै स्वतन्त्रबाट धरानमा चुनाव जितेका हर्क साम्पाङको पनि निकै चर्चा भयो ।मेयरमा जितेपछि पनि यी दुई नेता लगातार समाचारमा छाइरहेका छन् । काठमाडौंको फोहोर व्यवस्थापनदेखि सुकुमबासी बस्ती हटाउने जस्ता कार्यमा बालेनले सक्रियता देखाए । यद्यपि विवादमुक्त भने हुन सकेनन् । सामाजिक सञ्जालमा बेलाबखत लेख्ने आक्रामक स्टाटसहरुले गर्दा पनि उनी चर्चामा आइरहे ।हर्कले चाहिँ शारीरिक श्रममा जोड दिए । उनी पनि सामाजिक सञ्जालका स्टाटसले विवादित बन्दै आएका छन् । हर्क गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई चार हजार ७६२ मतान्तरले पराजित गर्दै प्रमुख निर्वाचित भएका थिए । हर्कले २० हजार ८२१ मत ल्याउँदा किशोरले १६ हजार ५९ र तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत ल्याइन् ।

रवि लामिछानेको राजनीतिमा छलाङ

२०७९ सालमा ग्यालेक्सी फोरके टेलिभिजन छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० गठन गरेका सभापति रवि लामिछाने पनि यस वर्षका सर्वाधिक चर्चित पात्र हुन् । उनको पार्टीले गठनको ६ महिनामै संसदीय चुनावमा २० सीट जित्यो । रविले उपप्रधान तथा गृहमन्त्रीको पनि स्वाद चाख्न भ्याए । रवि आफैंले चितवन क्षेत्र नम्बर २ बाट विशाल अन्तरको जीत हासिल गरेका थिए । उनले ४९ हजार २६४ भोट प्राप्त गर्दै निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत ल्याएका थिए । कांग्रेसका श्रेष्ठले भन्दा ३४ हजार २८१ भोट बढी ल्याएर रवि निर्वाचित भएका हुन् । मंसिरको पहिलो साता प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछाने एक महिनापछि पुस १० गते उपप्रधान एवम् गृहमन्त्री बनेका थिए । त्यसको एक महिनामै माघ १३ गते उनलाई सर्वोच्च अदालतले नागरिकता प्रकरणमा दोषी ठहर गर्दै एकैपटक पार्टीको सभापति, प्रतिनिधिसभा सदस्य तथा उपप्रधान एवं गृहमन्त्रीबाट पद मुक्त बनाइदियो ।त्यसपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिएर अहिले फेरि चितवन २ को उपनिर्वाचन लड्दैछन् । उनीविरुद्ध अभियन्ता युवराज सफलले सर्वोच्च अदालतमा राहदानी दुरुपयोग प्रकरणको मुद्दा पनि हालिसकेका छन् । मुद्दा अहिले विचाराधीन अवस्थामा छ ।

चोलेन्द्र शमशेरको बहिर्गमन

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि २०७८ सालमा संसदमा महाअभियोग लागेको थियो । २१ वटा गम्भीर आरोप लगाउँदै तत्कालीन प्रतिनिधिसभाका ९८ सदस्यले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । यद्यपि महाअभियोगको प्रस्ताव पारित नहुँदै यसअघिको प्रतिनिधिसभाको आयु सकिएको थियो र तत्कालीन प्रधानन्यायाधीश जबरा महाअभियोग पारित नहुँदै यस वर्ष अनिवार्य अवकाशमा गए ।२०७५ पुसमा प्रधानन्यायाधीश बनेका जबरामाथि अघिल्लो वर्ष २०७८ फागुनमा नै महाअभियोगको प्रस्ताव दर्ता भएको थियो । महाअभियोग प्रस्तावपछि उनी १० महिनासम्म कार्यालय नै जान सकेनन् । संसद विघटनपछि अदालत जाने प्रयास गर्दा नेपाल बार एसोसियसनको अवरोधका कारण उनी रोकिएका थिए । त्यसबेला उनलाई बालुवाटारस्थित निवासमा नजरबन्दसमेत गरिएको थियो ।

तर, लामो समयसम्म महाअभियोगको प्रस्ताव अघि बढ्न नसकेका कारण जबरा स्वतः निलम्बनमा परे । गत मंसिर २१ गते संसद सचिवालयका महासचिव भरत गौतमले उनको महाअभियोग निष्क्रिय भएको भन्दै निलम्बन फुकुवा गर्न पत्र लेखेका थिए । तर, उक्त पत्र रद्द गर्न रिट परेपछि संवैधानिक इजलासले पत्र कार्यान्वयन नगर्न आदेश दियो । योसँगै जबराको एक पटकमात्रै भए पनि प्रधानन्यायाधीशकै हैसियतमा सर्वोच्च अदालत जाने योजना विफल बन्यो । गत मंसिर २७ गते उनी अनिवार्य अवकाशमा गए । कार्यकालभरि विवादित रहेका जबराको अवकास अपमानजनक रुपमा भयो ।

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज गायब

यस वर्षको अर्को चर्चित घटना हो अर्थ मन्त्रालयको सीसीटीभी फुटेज काण्ड । यसले नेकपा माओवादी केन्द्रका उपमहासचिव रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई निकै विवादित बनायो ।२०७९ जेठ १४ गते चालू आर्थिक वर्षको बजेट बनाउँदै गर्दा निश्चित स्वार्थमा परेर करको दरमा हेरफेर गरेको विषय यो वर्ष देशको अर्थतन्त्र नै हल्लिने गरी चर्चामा आयो । यो विषय सार्वजनिक भएसँगै छानबिन गर्न संसदीय विशेष समिति गठन भयो । करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई बुझाएको थियो । अन्ततः समितिले अर्थमन्त्री शर्मालाई क्लीन चिट दियो । निलम्बित शर्मा फेरि अर्थ मन्त्रालय फर्किए ।

प्रेमप्रसाद आचार्य आत्मदाह

२०७९ सालमै संघीय संसद भवन अगाडि युवा व्यवसायी प्रेमप्रसाद आचार्यले आत्मदाह गरे । यो घटना पनि २०७९ सालको सबैभन्दा दुःखद र चर्चित घटना बन्यो ।

संघीय संसद भवन नयाँ बानेश्वर अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद बैठकबाट फर्किंदै गर्दा आफ्नै शरीरमा आगो लगाएर घाइते बनेका आचार्यलाई तत्काल प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो । तर, उनी बाँच्न सकेनन् । आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो स्टाटसले धेरैलाई भावुक तुल्यायो । उक्त स्टाटसमा आचार्यले आफूले विभिन्न व्यवसाय गर्ने क्रममा खेपेको भुक्तमान वर्णन गरेका थिए । आफू ऋणबाट उक्सिनै नसकेपछि मृत्यु रोज्न बाध्य भएको उनले लेखेका थिए । आचार्यले सरकारलाई बुँदागत रुपमा सुझावहरु पनि दिएका थिए ।

क्रिकेटमा सफलता

नेपाली क्रिकेटका लागि यो वर्ष अविस्मरणीय नै रह्यो । नेपाली क्रिकेट टीमले उत्कृष्ट प्रदर्शनसहित आफ्नो एक दिवसीय मान्यताको रक्षामात्र गरेन, विश्वकपको ग्लोबल क्वालिफायर्समा पनि स्थान बनाएको छ । नेपालले खेलेका पछिल्ला १२ वटा एक दिवसीयमध्ये ११ वटामा जीत दर्ता गर्दै ग्लोबल क्वालिफायरमा छनोट भएको हो । घरेलु मैदानमा भएका दुईवटा त्रिकोणात्मक प्रतियोगिता नेपालले क्लीन स्वीप गर्‍यो । नेपाली टीमले घरेलु मैदानमा यूएई, पपुवा न्यूगिनी, नामिबिया जस्ता टीमलाई घुँडा टेकाएको थियो । यूएईमा भएको त्रिकोणात्मक सिरिजमा भएका ४ मध्ये ३ वटा खेल नेपालले जित्यो ।

नेपालले यसै वर्ष भारतीय प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रुपमा भित्र्याएको थियो । उनको प्रशिक्षणमा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अब घरेलु मैदानमा हुने एसीसी प्रिमियर कपको विजेता बन्दै एसिया कपमा स्थान सुरक्षित गर्ने लक्ष्य नेपालले लिएको छ ।

थपिए दुई अन्तराष्ट्रिय विमानस्थल

विकासका दृष्टिकोणबाट हेर्दा वर्ष २०७९ मा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल थपिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमात्रै रहेको अवस्थामा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् ।

दुइटै विमानस्थलमा उडान सुरु भइसकेको छ । २०७९ सालको पहिलो महिना बैशाखमा भैरहवा विमानस्थल सुरु भएकोमा २०७९ पुस १७ गते प्रधानमन्त्री प्रचण्डले विमानस्थलको उद्घाटन गरे । योसँगै २०७९ सालबाट अन्तर्राष्ट्रिय विमानस्थलको संख्या ३ पुगेको छ । दुवै विमानस्थल खुले पनि पर्याप्त उडान सञ्चालन खर्च धान्न मुस्किल परिरहेको अवस्था छ ।

प्रकाशित: १ बैशाख २०८०, शुक्रबार ०८:५४