प्रचण्ड आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै परराष्ट्रमा साउद


तरुण पत्रिका

३ बैशाख २०८०, आईतवार ०८:०९

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज आठौँपटक मन्त्रिपरिषद् विस्तार गर्दै छन्। यसअघि उनले सातौँपटक मन्त्रिमण्डल विस्तार गरे पनि अझै ६ मन्त्रालय रिक्त छन्। आज पनि नेपाली कांग्रेसबाट एनपी साउदलाई परराष्ट्रमन्त्रीका रूपमा शपथ खुवाउने मात्र निश्चित छ, यो खबर लेख्दासम्म अन्य मन्त्रीको टुंगो लागेको छैन। साउदलाई आज दिउँसो ३ बजे पद तथा गोपनीयतको शपथ खुवाउने तयारी छ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त प्रचण्डले आज साउदलाई परराष्ट्रमन्त्री बनाएपछि उनको जिम्मेवारीमा अझै ५ मन्त्रालय रहने छन्। परराष्ट्रमन्त्रीको शपथपछि पनि प्रधानमन्त्री प्रचण्डमातहत अझै कानुन, न्याय तथा संसदीय मामिला, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र खानेपानी तथा सरसफाइ मन्त्रालय बाँकी रहने भएका हुन्। कांग्रेसको भागमा ८ मन्त्रालय परेको छ।

आज परराष्ट्रमन्त्री पठाएपछि अब उसको भागमा ३ मन्त्रालय (कानुन, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद) बाँकी रहनेछन्। कांग्रेसबाट यसअघि उपप्रधान तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा। प्रकाशशरण महत, सहरी विकासमन्त्रीमा सीता गुरुङ र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा रमेश रिजाल नियुक्त भइसकेका छन्।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार ०८:०९