‘उपमहानगरपालिकाको अनुभूति नै गर्न पाइएन’


तरुण पत्रिका

३ बैशाख २०८०, आईतवार १०:५६

तुलसीपुर– दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन ।

विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहा नगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीय चक्रपानी उपाध्यायले बताए । “हामी उपमहानगरपालिका भन्छौँ, तर राम्रो सडक छैन, धेरै ठाउँ विद्युत् पुगेको छैन”,उनले भने, “तर हामीले उपमहानगरपालिकाको अनुभूति नै गर्न पाएको अवस्था छैन ।”

वडा नं १ मा मात्रै ५/७ वटा त्यस्ता बस्ती रहेको उनले बताए । त्यहाँ तत्काल विद्युत्, खानेपानी, सडक पुर्‍याउनुपर्ने अपरिहार्य रहेको तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाले बताएका छन् ।

ती गाउँमा करिब २ सय बढी घरपरिवार रहेका छन् । उपमहानगरपालिका भित्रका यस्ता बस्तीलाई लक्षित गरी विकासको मोडेल तयार पार्ने उपप्रमुख स्यानी चौधरीले बताएका छन् । “अझै पनि उपमहानगरपालिकाका विकट–विकट क्षेत्रले विकासको अनुभूति गर्न पाएको अवस्था छैन”, उनले भने , “ती बस्तीमा लक्षित गरी विकास पुर्‍याउन हामी पहल गर्छौँ ।”

सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता कुरालाई बढी प्राथमिकता दिने उनको भनाइ छ । सडक सञ्जाल नहुँदा बजार आवतजावत गर्न पनि निकै कठिन हुने गरेको तुलसीपुर–१ बयाले निवासी चक्रपानी उपाध्यायले बताए । “बजार आउने–जाने काम परिरहन्छ”, उनले भने, “सडक सञ्जाल गतिलो नहुँदा हिँडेरै बजार जानुपर्छ ।” ती गाउँमा सडकको ट्रयाक खोलिएको भए पनि गाडी जान सक्दैनन् । मर्मत तथा स्तरोन्नति हुनसकेको अवस्था छैन ।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार १०:५६