काठमाडौँ– सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी किनार वरपर तारबार गर्न माग गरेका थिए ।
सांसद लेखनाथ दाहालले बिपी राजमार्गमा गत चैत २९ गते जीप दुर्घटना हुँदा ४ भारतीय नागरिकको निधन भएको उल्लेख गर्दै उक्त राजमार्ग दैनिक ४ हजार सवारीसाधन गुड्नका लागि बनाइएकामा दैनिक १० हजार गुड्दा समस्या आएकाले समाधान गर्न सरकारसँग माग गरेका हुन् ।
सांसद डा तोसिमा कार्कीले चिकित्सा शिक्षामा योग्यताअनुसारको भर्ना क्रमलाई पन्छाएर स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउँदा समस्या आएकाले सुधार गर्न माग गरिन् । स्वास्थ्य संयन्त्रलाई क्षति हुनबाट बचाउन पनि योग्यता क्रमअनुसारको कार्यविधि हुनुपर्नेमा उनको जोड थियो ।
सासंद ठाकुर गैह्रेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्भन्दा बाहिर ‘व्यवस्था उल्ट्याउन खोजेको’ भनी भाषण गरेकोमा आपत्ती प्रकट गरे । यस्तो विषय संसद्मा आएर राख्न उनले प्रधानमन्त्री दाहाललाई सुझाव दिएका हुन् ।
सांसद मेटमणि चौधरीले मानव बेचबिखनमा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिए । सांसद प्रेम सुवालले काठमाडौँ विश्वमै फोहर शहरमा परिणत हुँदा क्यान्सरलगायत रोगका बिरामी बढेकाले राजधानीमा प्रदुषणको समस्या समाधान गर्न माग गरे ।
प्रकाशित: ३ बैशाख २०८०, आईतवार १५:१९