भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा, उच्चस्तरीय भेटवार्ता गर्ने


तरुण पत्रिका

४ बैशाख २०८०, सोमबार ०७:५९

काठमाडौं । आइतबार नेपाल आएका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेले आज उच्च तहमा राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।

सुदूरपश्चिम प्रदेशमा शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय मानसखण्ड सम्मेलनमा भाग लिन चौथाइवाले सडकमार्गबाट उत्तराखण्ड हुँदै आइतबार धनगढी आएका थिए । आज काठमाडौं आएर राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम उनको छ । काठमाडौं आउनुअघि उनले धनगढीमा मानसखण्ड सम्मेलनलाई सम्बोधन गर्नेछन् ।

काठमाडौं आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीबारे छलफल हुनेछ ।

भ्रमण मिति निश्चित नभए पनि प्रधानमन्त्री प्रचण्ड छिट्टै भारत जाने तयारीमा छन् । भारतको रक्सौलदेखि काठमाडौंसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिमतिर भारत भ्रमणमा जाने गरी तयारीमा प्रधानमन्त्री छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीकै लागि आइतबार परराष्ट्रमन्त्रीमा एनपी साउद नियुक्त गरिएका छन् ।

प्रकाशित: ४ बैशाख २०८०, सोमबार ०७:५९