आठबीसकोट नगरपालिकाको निर्णय : २०० बढी करार शिक्षक हटाइउने


तरुण पत्रिका

४ बैशाख २०८०, सोमबार ११:३७

हेमन्त केसी
सुर्खेत । खर्च धान्न नसकिने भन्दै आठबीसकोट नगरपालिका रुकुम पश्चिमले एकैपटक २ सय बढी करार शिक्षकलाई जागिर बाट हटाउने निर्णय गरेको छ ।

पालिकाको विभिन्न सामुदायिक विद्यालयहरुमा कार्यरत २ सय ४६ जना करार सेवामा रहेका शिक्षकहरु हटने भएका हुन् ।

आन्तरिक स्रोतबाट शिक्षकलाई तलब सुविधा दिन नसकिने भन्दै करार शिक्षक हटाउन थालिएको हो ।

नगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कार्यरत करार शिक्षकहरूको करार सम्झौता नविकरण नहुने भएको छ । नगरपालिका ले करारमा नियुक्तगरेका शिक्षकको सम्झौता अब नविकरण नगर्ने बताएको छ ।

नगरप्रमुख रवि केसीका अनुसार नगरपालिकाले आन्तरिक स्रोतबाट तलब दिंदै आएको र पालिकामा विद्यालय को संख्या धेरै भएकोले विद्यालय समायोजनमा सहज होस भन्ने उदेश्यले करार शिक्षक को सम्झौता नविकरण नगर्ने वैशाख २ गते शनिबार बसेको ७८ औं नगरकार्यपालिका बैठकले निर्णय गरेको बताए ।

अनुसार नगरपालिकामा कार्यरत स्वयंसेवक, पीसीएफ र करार शिक्षक हटाइएको हो। आन्तरिक आम्दानी न्यून रहेको र वित्तीय समानीकरण अनुदानबाट तलब भत्तामा गरिएको खर्चबेरुजु देखिन आएकाले शिक्षक हटाइएको हो।

नगरपालिका भित्र २ सय ४६ जना करार शिक्षक कार्यरत छन । त्यस्तै नगरपालिकाले पाँच सय बराबर कर्मचारीलाई आन्तरिक स्रोतबाट तलब खुवाउँदै आएको छ ।

करार शिक्षक हटाएर दरबन्दी मिलान र विद्यालय गाभ्ने विषयमा छलफल भइरहेको समेत बताईएको छ ।विद्यालय धेरै संख्यमा रहेको र आम्दानीले धान्न नसक्ने भएकाले पछि नियुक्त भएका करार सेवाका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको नगरपालिकाले जानकारी दिएको छ ।

अनावश्यक खर्च घटाउन चाहिने भन्दा बढी करारका कर्मचारीको साउन १ गतेदेखि म्याद नथप्ने निर्णय गरिएको केसीको भनाई छ ।उ

प्रकाशित: ४ बैशाख २०८०, सोमबार ११:३७