रवि लामिछानेका गाडी चालकको स्वास्थ्य अवस्था स्थिर


तरुण पत्रिका

५ बैशाख २०८०, मंगलवार ११:२६

काठमाडाैँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा ‘शम्भु’को स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जानकारी दिएको छ।

भरतपुर महानगरपालिका–११ स्थित तीनतले घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई पुरानो मेडिकल कलेजमा भर्ना गरिएको छ।

गम्भीर चोट लागेकाले उनको टाउकाको शल्यक्रिया हिजो नै गरिएको छ। अहिले पनि थापा भेन्टिलेटरमै रहेको उपचारमा संलग्न चिकित्सक डा। सुदीपराज केसीले जानकारी दिए।

‘उँहा अझै पनि होसमा आउन सक्नुभएको छैन्’, डा। केसीले मंगलबार बिहान नेपालखबरसँग भने ‘अहिले नै केही भनिहाल्न सक्ने अवस्था छैन। अस्पताल ल्याउँदा भन्दा स्वास्थ्यमा केही सुधार आए पनि अवस्था क्रिटिकल (गम्भीर) नै छ, स्वास्थ्य स्टेबल (स्थिर) नै छ।’

उनी तीनतले घरको छतबाट कसरी खसे भन्ने विषयमा अनुसन्धान जारी छ। घटना अनुसन्धानका लागि रास्वपाका प्रवक्ता मुकुल ढकालका सवारी चालक कालुप्रसाद राजवंशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक दिलबहादुर थापा ‘शम्भु’ उनीसँगै सुतेका थिए।

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार ११:२६