प्रकाश सपुतको गीत ‘सकम्बरी’– विवादकाबीच युट्युवको ‘ट्रेन्डिङ’मा


तरुण पत्रिका

५ बैशाख २०८०, मंगलवार १२:४४

काठमाडौं– लोक गायक प्रकाश सपुतले हालै बजारमा ल्याएको ‘सकम्बरी’ बोलको गीत यतिबेला चर्चामा छ । फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल खोल्ने बित्तिकै सपुतको गीत छ्यापछ्याप्ती भेटिन्छ, भिडियो हेर्न पाइन्छ ।
सपुतको उक्त गीतलाई लिएर यतिबेला सामाजिक सञ्जालमा मात्र होइन, चोक, गल्ली र चिया चौतारीमा समेत यस्तै विषय उठ्न थालेका छन् । निम्न वर्गीय परिवारकी पात्र कुसुम शर्मा (फुलमाया) हुर्केर, बढेर, पढेर, संघर्ष गर्दै अभिनेत्री(मोडल) बन्ने संगीन सपना बोेकेर सहर छिर्छिन् । आमाले छोरी छोरी जन्माइ भनेर उनको बाबुले दोस्रो बिबाह गरेर हिँडेपछि घरको जिम्मेवारी उनै फुलमायको काँधमा आउँछ ।

उनले परिवार पाल्न र पढाउन मोडल बनेर दाम र नाम कमाउने सपना बोकेर सहर छिर्दा विभिन्न आरोह अवरोह म्युजिक भिडियोमा देखाइएको छ । म्युजिक भिडियोमा सपुतले सहरमा फुलमायाले होटल, रेष्टुरेन्टमा काम गर्दा आफुलाई बेच्नुपरेको कथा देखाइएको छ ।

अभिनेत्री बन्न सहरमा आएकी फुलमायाले पहिले आफ्नो गाउँको चिने जानेको दाईबाट लुटिएको, पछि होटल सञ्चालक र ग्राहकबाट नै अस्मिता बेच्नुपरेको कुरालाई सपुतले गीतमार्फत भन्न खोजेका छन् । कलाकारीता क्षेत्रमा दाम र नाम कमाउन एउटा सामान्य परिवारकी चेली आफन्त र अन्य क्षेत्रबाट कसरी लुटिन्छिन् र लुटिन बाध्य पार्ने पुरुषत्वभित्रको गिद्देपनलाई समेत म्युजिक भिडियोमा उतारिएको छ ।

सपुतको गीतलाई लिएर कतिपयले समाज र कलाकारीताक्षेत्रको वास्तविकता पर्दामा उतार्न सफल भएको भन्दै प्रंशसा समेत गरिएको छ भने अधिकांश सपुतको गीतमा महिलाबादी र महिला अधिकारकर्मीले विरोध जनाइरहेका छन् ।
गीतका शब्दले झुम्काना, बुँलाकी, पाउजु र हातमा लगाएको चुरा कसरी र कस्ले किनिदियो भनिएको छ । सामान्य परिवारबाट सहर आएर विलासी जिवन र महंगा वस्तु कस्ले किनिदियो ? भनेर सोधिएको छ ।

कतिपय महिला अधिकारीबादीहरुले महिलाले लगाउने पहिरन र विलासी जिवनका लागि आफ्नो जवानी बेच्नुपर्ने कुरालाई प्रशय दिएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुले ती शब्द हटाउन र म्युजिक भिडियो समेत युट्युवबाट हटाउन दबाब दिइरहेका छन् । गायक प्रकाश सपुतको शब्द, लय र निर्देशनमा निर्मित गीतको म्युजिक भिडियोमा प्रकाश सपुतसँगै अभिनेता सुनिल थापा, कुशुम शर्मालगायतका कलाकारको अभिनय छ ।

विवादका विच पनि सपुतको गीत युट्युवमा दिन प्रतिदिन उकालो लाग्दैछ । म्युजिक भिडियो सार्वजनिक भएको ५ दिनमा युट्युव प्लार्टफर्ममा ६६ लाखभन्दा बढीले हेरिसकेका छन् । गीतको म्युजिक भिडियो युट्युवमा हालेको २ दिनमै ट्रेन्डिङ १ मा परेको छ ।

प्रकाशित: ५ बैशाख २०८०, मंगलवार १२:४४