७ दिनसम्म आइसोलेशनमा बस्न आग्रह


तरुण पत्रिका

६ बैशाख २०८०, बुधबार १२:५२

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा ७ दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा ७ दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका हुन् ।

उनका अनुसार कुनै पनि लक्षण नरहेको, ५ दिनसम्म आइसोलेशनमा बसेको वा ५ दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । ७ दिनसम्म आइसोलेशनमा बसेर ८ औँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ ।

मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुुन आग्रह गरेको छ । अहिले दैनिक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । हिजो १ सय ७१ जनामा सङ्क्रमण, २ जनाको निधन र ३ सय ९७ जना सङ्क्रिय सङ्क्रमित पुगेका छन् ।

प्रकाशित: ६ बैशाख २०८०, बुधबार १२:५२