तनहुँ । सत्तारूढ दलका शीर्ष नेताले तनहुँबाट गोविन्द भट्टराई निर्वाचित भए मन्त्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्न तनहुँ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले भट्टराईलाई मन्त्री बनाउने प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले यसअघि रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउने प्रतिबद्धता जनाएकामा उनलाई प्रधानमन्त्रीभन्दा सर्वोच्च पदमा पु¥याएको बताए । यसपटक भट्टराई निर्वाचित भए उनलाई मन्त्री बनाउने प्रचण्डको भनाइ छ । ‘यसअघि मत माग्न आउँदा मैले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउँछु भनेको थिएँ । तर, उहाँलाई राष्ट्रपति बनाएँ । गोविन्दजीलाई जिताउनुभयो भने मन्त्री बनाउनेछौँ,’ उनले भने ।
उपचुनावपछि पनि गठबन्धनकै सरकार हुने भन्दै उनले तनहुँका जनताको विकासको आकांक्षा पूरा गर्न भट्टराईलाई मन्त्री बनाइने प्रचण्डले बताए । ‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो । देशलाई सुशासन, शान्ति र समृद्धिमा लैजाने हामीले नै हो । त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौँ,’ प्रचण्डले भने ।
चुनावी सभामा कांग्रेस सभापति देउवाले पनि उनलाई मन्त्री बनाइने बताए । ‘तनहुँबाट तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो । मैले राष्ट्रपति बनाएँ । अब गोविन्दजीलाई जिताउनुस् म मन्त्री बनाउनेछु,’ देउवाले भने ।
प्रधानमन्त्री प्रचण्डले वर्तमान गठबन्धनलाई हल्का रूपमा नलिन भनेका छन् ।
‘यसअघि मलाई अरू कसैको सहयोग पाएर प्रधानमन्त्री नै भए पनि चैन भएन, मलाई प्रधानमन्त्री बनाउन नपाएपछि शेरबहादुरजीलाई पनि चैन भएन । त्यसैले हामी फेरि एकताबद्ध भयौँ । हाम्रो लभ अलि गहिरो भइसकेको रहेछ,’ उनले भने, ‘हाम्रै निर्णयले अहिले फेरि राष्ट्रपति, उपराष्ट्रपतिदेखि संघ र प्रदेशका सरकारहरू बनाउने अवस्थामा पुगिएको छ । यसलाई सामान्य ढंगले नबुझिदिनुहोला । हामी अब मुलुकको अर्थतन्त्र सुधार्ने र विकासको बाटोमा देशलाई अघि बढाउनेमा केन्द्रित भइरहेका छौँ,’ प्रचण्डले भने ।
प्रकाशित: ६ बैशाख २०८०, बुधबार २१:२४