महेन्द्रनगर– पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण दर वृद्धि भइरहेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका कैलाली र कञ्चनपुरका साथै पहाडी जिल्लाका नेपाल–भारत सीमा नाकामा ५ वटा स्थानमा हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षण गर्दै आएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोेभिड सम्र्पक व्यक्ति हेमराज जोशीले सीमानाकामा कोरोना परीक्षणमा सङ्क्रमण पुष्टि हुने क्रम २ सातायता बढ्दै गइरहेको बताए ।
यहाँ कञ्चनपुरको गड्डाचौकी नाका, कैलालीको त्रिनगर र खक्रौला, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा भारतबाट फर्किनेको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क स्थापना गरिएको उनले जानकारी दिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा पीसीआर विधिमा ३ र एन्टिजेनमा २७ गरी ३० जनामा सङ्क्रमण देखिएको छ ।
यहाँ बुधबार ४ सय ११ जनालाई एन्टिजेन र २२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमध्ये कञ्चनपुरका मात्रै बुधबार १० जनाको कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले यहाँ १० जनाको सङ्क्रमण देखिएको बताए ।
उनका अनुसार गड्डाचौकीमा ४, बेलौरीमा ४ र दोधारा चाँदनी र कृष्णपुर नगरपालिकामा १÷१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
त्यसैगरी कैलालीको धनगढीस्थित त्रिनगर हेल्थ डेस्कमा परीक्षण गर्दा ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका कोभिड सम्र्पक व्यक्ति जोशीले जानकारी दिए ।
बुधबार मात्रै सिमाना गड्डाचौकीमा २ सय ८ , बैतडीको झुलाघाटमा १९, टीकापुर खक्रौला नाकामा ४२, त्रिनगर भन्सारमा १ सय ९७ र दार्चुलाको पुलघाटमा ९ जनाको कोरोना परीक्षण गरिएको थियो । “कोभिडको खोप लगाएका छौँ भनेर मात्रै पुग्दैन”, जोशीले भने, “स्वास्थ्य मापदण्डको पनि ख्याल गर्दै स्वास्थ्यप्रति सजग रहन आवश्यक छ ।” उनले सीमानाकामा एन्टिजेन र प्रादेशिक एवं जिल्ला अस्पतालमा पीसीआर विधिबाट कोरोना परीक्षण हुँदै आएको जानकारी दिए ।
प्रकाशित: ७ बैशाख २०८०, बिहीबार ११:०९