राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित


तरुण पत्रिका

९ जेष्ठ २०८०, मंगलवार १७:३२

काठमाडौँ ।

सरकारले संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको राष्ट्रियसभाको बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । ५ जेठमा संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेका प्रश्नको जबाफ दिएका थिए । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदले यसको प्रभावकारी कार्यान्वयन गरेर जानुपर्ने धारणा राखेका थिए भने प्रतिपक्षी सांसदहरूले नीति तथा कार्यक्रमले मुलुकको वर्तमान समस्या समाधान गर्न नसक्ने भन्दै विरोध गरेका थिए ।

केही सांसदले कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिने विषय नीति तथा कार्यक्रमका राम्रा पक्ष भएको बताएका थिए भने कतिपय सांसदले मुलुकको आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए ।

सांसदहरूको प्रश्नको जबाफ दिँदै प्रधानमन्त्रीलेसरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रम उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित रहेको बताए । प्रधानमन्त्रीले राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा स्वाधीनता एवं राष्ट्रिय हितको रक्षा गर्दै समृद्ध, सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने सर्वोपरि लक्ष्य हासिल गर्ने दृढ संकल्पका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताएका थिए ।

प्रकाशित: ९ जेष्ठ २०८०, मंगलवार १७:३२