कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले धानको उत्पादन बढाउन किसानलाई उन्नत जातको धानको बीउ वितरण गरेको छ ।
नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार १ सय ५० किसानलाई धानको बीउ वितरण गरिएको हो । किसानलाई सावा मन्सुली, राधा–४, सर्जु–५२, रामधान, सावित्री र सुक्खा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए ।
“समूह, सहकारी, फर्म र व्यक्तिगतरुपमा किसानको मागअनुसारको धानको बीउ वितरण गरेका छौँ”, उनले भने , ६६ प्रति किलोका हिसाबले धानको बीउ खरिद गरी किसानलाई ३३ मा उपलव्ध गराएका छौँ ।” १ हजार ५ सय २० किलो धानको बीउ किसानलाई वितरण गरिएको उनले बताए ।
धानको बीउका लागि नगरपालिको ६ लाख बढी रकम खर्च गरेको छ । मसिनो र बढी उत्पादन दिने नगरपालिकाको माटो सुहाउँदो धानको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख बुढाऐरको भनाइ छ । “वितरण गरिएको धानको बीउ दुई सय बढी बिघा क्षेत्रफलमा रोप्नका लागि पुग्छ”, उनले भने , “धानको उत्पादन बढेसँगै किसानको आयस्तरमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।” नगरपालिकामा ६ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
त्यसको उत्पादन २० हजार मेट्रिकटन रहेको छ । धानको उत्पादन बढाउन किसानलाई प्रोत्साहित गर्न बीउ, कृषि औजार, यन्त्र, मलखाद, विषादी र प्रविधिमा सहयोग गर्ने कार्य भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए । धानको उत्पादनलाई ५ वर्षभित्र दोब्बर पार्ने नगरपालिकाको लक्ष्य रहेको उनले जनाए ।
“नगरपालिकामा कृषिलाई आधुनिकीकरण गर्न अनुदानका कार्यक्रमसँगै किसानलाई तालिम दिने कार्य भइरहेको छ”, उनले भने , “कृषि क्षेत्रको अध्ययन गर्न र तथ्याङ्क सङ्कलन गर्नका लागि कन्सलटेन्ट नियुक्त गरी कार्य अगाडि बढाइएको छ ।” सङ्कलित तथ्याङ्कका आधारमा नगरपालिको कृषिका लागि दीर्घकालीन योजना बनाइ कार्यान्वयनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ ।
प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार १६:१७