गणतन्त्र दिवसमा रेशम चौधरीलाई आममाफी दिने तयारी


तरुण पत्रिका

११ जेष्ठ २०८०, बिहीबार १८:४०

काठमाडौं ।

सरकारले जन्मकैदकाे सजाय पाएका रेशम चौधरीलाई आममाफी दिलाउने तयारी थालेको छ ।

टीकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीलाई उनको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको एक सल्लाहकारले चौधरीको बाँकी सजाय माफी हुनुपर्ने भनी पेश भएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यलय आईपुगेको बताए । यस विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड मंगलबार साँझ राष्ट्रपति कार्यालय पुगेको उनले बताए ।

राष्ट्रपतिले संविधानको धारा २७६ बमोजिम कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ अनुसार सजाय माफीको प्रक्रिया अघि बढाएर गृह मन्त्रालयले फाइल राष्ट्रपति कार्यालयमा पठाएको हो । ऐनको दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिनसक्ने व्यवस्था छ ।

रेशम चौधरीको कैद माफीसम्बन्धी गृह मन्त्रालयको प्रस्ताव मागि अध्ययन भइरहेको स्रोतले जानकारी दिएको छ । यसअघि जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएका रेशम चौधरीलाई सर्वोच्च अदालतले गत २ जेठमा जन्मकैदको फैसला सदर गरेको थियो ।

सरकारले जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा चौधरीलाई माफी मिनाहा दिन लागेको हो । १५ फागुन, २०७४ देखि थुनामा रहेका चौधरीलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो । माफी मिनाहाको प्रक्रिया कार्यान्वयन भए उनले करिव १५ वर्ष कैद सजाय मिनाहा पाउनेछन् ।

प्रकाशित: ११ जेष्ठ २०८०, बिहीबार १८:४०