नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आजबाट बयान लिइँदै


तरुण पत्रिका

१२ जेष्ठ २०८०, शुक्रबार ०७:४४

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूको आजबाट अदालती बयान शुरु हुँदैछ ।

यस घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्वगृहमन्त्री बालकृष्ण खाँण, सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायत १६ जना पक्राउ परेका छन् । बाँकी १४ जना फरार छन् ।

प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंले बुधवार जिल्ला अदालत काठमाडौंमा ५ वटा कसूरमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको छ ।

राज्यविरुद्धको अपराध, संगठित अपराध, कीर्ते, ठगीलगायतका आरोपमा उनीहरुमाथि मुद्दा दर्ता गराइएको छ । अदालती बयान सकिएपछि थुनछेक बहस हुनेछ । सरकारी वकिल र १६ जना प्रतिवादीका कानून व्यवसायी बहसमा सहभागी हुनेछन् । बहसपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने र कारागार चलान गर्नेमध्ये एउटा आदेश गर्नेछन् ।

भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर २८ करोडभन्दा बढी ठगिएको भन्दै ११५ जना पीडितले उजुरी दिएका थिए । अझै सयौं पीडित सम्पर्कमा नआएको र केही प्रतिवादीको पूरा विवरण नखुलेको भन्दै यो प्रकरणमा फेरि अनुसन्धान गर्ने बाटो प्रहरीले बाँकी नै राखेको छ ।

प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार ०७:४४