सहानुभूतिको सट्टा आलोचना भएपछि गिभिनाले मागिन् माफी


तरुण पत्रिका

१२ जेष्ठ २०८०, शुक्रबार ०७:५१

कथित समाजसेवी गिभिना मगरले आफ्ना समर्थकलाई नर्स र स्वास्थ्यकर्मीहरूलाई नकारात्मक टिप्पणी नगरिदिन आग्रह गरेकी छिन् ।

गत वैशाख २८ गते बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत १६ वर्षीया बालिकालाई दिउँसो २ बजे दिनुपर्ने औषधि ४ बजे दिइएको भन्दै उनले प्रशासनको अनुमति नलिई वार्डमा रहेका नर्सहरूको भिडियो खिचेर टिकटकमा पोस्ट गरेकी थिइन् ।

गिभिनाले ती बालिकाको उपचारका लागि आर्थिक सहयोग जुटाउँदै आएकी छिन् । एक नर्सले आफूलाई भिखारी भनेको भन्दै गिभिनाले अस्पतालमा रुदै एकपछी अर्को विवाद सृजना गर्न थालेकी थिइन् । यता माइतीघरमा नर्सहरूले पनि अस्पतालजस्ता संवेदनशील ठाउँमा होहल्ला गरेर स्वास्थ्यकर्मीको स्वाभिमानमा ठेस पुग्ने काम गरेको भन्दै गिभिनाको विरोध गरे ।

२४ घन्टामा दिने इन्जेक्सन दिउँसो २ बजे लगाउनुपर्नेमा नर्सले ढिला गरेको भन्दै गिभिनासँग विवाद सुरु भएको थियो । तर अहिले सामाजिक सञ्जालमा सहानुभूति पाउनुभन्दा बढी आलोचना हुन थालेपछि गिभिना मगरले सार्वजनिक रूपमा माफी मागेकी छिन् । उनले आफ्नो उद्देश्य नर्स पेसा गरिरहेकाहरूमा चोट पुर्‍याउने नरहेको र औषधि समयमा नदिइँदा भएको विवादलाई सामाजिक सञ्जालमा राख्नु भूल भएको बताएकी छिन् ।

प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार ०७:५१