बलात्कार आरोपित गौतम उपप्राध्यापकबाट निलम्बित


तरुण पत्रिका

१२ जेष्ठ २०८०, शुक्रबार ०८:३१

बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका दाङको देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक शेषमणि गौतमलाई पदबाट निलम्बन गरिएको छ ।

क्याम्पस सञ्चालक समितिको बिहीबार बसेको बैठकले क्याम्पस सञ्चालक समितिको कोषाध्यक्षसमेत रहेका गौतमलाई उनी पक्राउ परेको दिनदेखि नै लागू हुने गरी सबै पदबाट निलम्बित गर्ने निर्णय गरेको हो ।

लमही नगरपालिका वडा नं. ५ रातोडाँडाका उपप्राध्यापक गौतमले जेठ ८ गते दिउँसो घरमा कोही नभएको समयमा एक २२ वर्षीया छात्रालाई जागिरको प्रलोभन देखाएर बलात्कार गरेको जाहेरीपछि सोही दिन उनी पक्राउ परेका थिए ।

जेठ ९ गते जिल्ला अदालतले गौतमलाई पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न म्याद दिएको थियो ।

प्रकाशित: १२ जेष्ठ २०८०, शुक्रबार ०८:३१